| हिमालमा जीवन विसाउने आरोहीलाई सम्झदै न्युयोर्कमा मनायो एभरेष्ट डे । | ||||
|
|
आङछिरिङ शेर्पा न्युयोर्क- ' हामी त चढेर फर्के तर आरोहणको क्रममा कैयो आरोहीले त्यही हिमालमा जीवन गुमाएको सम्झदा निकै दुख लाग्छ' सर्वोच्च शिखर सगरमाथामा ६ पटक सफल आरोहण गरिसकेका पासाङ रिन्जी शेर्पा हातको छयोमी भगवानतिर उठाउदै भन्छन-' केही गरौ भन्ने सोचका साथ हिमालमा जीवन गुमाउने तिनै आरोहीहरुको आत्माले शान्ति मिलोस ' । पासाङसंगै न्युयोर्कबासी दर्जनौ सगरमाथा आरोहीहरु मगलबार शेर्पा किदुगको गुम्बामा पुगेर दिनभरि हिमालमा मृत्यु हुने आरोहीको सम्झनामा बत्ति बालेर आत्मा शान्तिको कामना गरेका थिए ।
' अरु दिन सधै आफनै काममा व्यस्त भएपनि यो दिन भने हिमालमा जीवन विसाउनेहरुको आत्मा शान्तिको लागी प्रार्थना गर्छु' सर्वोच्च शिखरमा ३ पटक आरोहण गर्नुका साथै पाकिस्तानस्थित माउन्ट केटु आरोहण गर्ने पहिलो सेरब जाङबु शेर्पा भन्छन- ' हिमालमा यही मे २९ को दिनलाई विश्वमाझ हामी नेपालीले गर्व गर्ने दिन पनि हो ' । सगरमाथा आरोहणको पहिलो ऐतिहासिक दिन मे २९ को सम्झनामा सगरमाथा आरोहणको अनुभव साटदै आरोहण क्रममा मृत्यु भएका आरोहीहरुको स्मृतिमा विशेष पुजा समेत गरेका थिए । कार्यक्रममा शेर्पा समुदायका आवतारी लामा टुल्कुले सगरमाथा आरोहण क्रममा मृत्यु भएका आरोहीहरुको स्मरणमा विशेष पुजा र मन्त्रपाठ गरेका थिए । सन १९५३ को मे २९ तारिखको दिन तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले विश्वको इतिहासमा पहिलो पटक सगरमाथा आरोहण गरेका थिए । यही दिनलाई नेपाल सरकारले नेपाल एभरेष्ट डेको रुपमा विशेष कार्यक्रममा मनाउदै आएका छन ।
विश्व माझ नेपाल र नेपालीको गौरवसंग गासिएको एभरेष्ट डे कार्यक्रम न्युयोर्कमा यस पटक नेपाल मिसनले मनाउन विर्सेपनि सगरमाथा चढीसकेका आरोहीहरुले आफनै निजि खर्चमा मनाएका थिए । शेर्पा किदुगको भवनमा आयोजित उक्त कार्यक्रममा दर्जनौ सगरमाथा आरोहीहरुले सगरमाथा आरोहणको गौरव अनुभुत गदै हिमाल आरोहणको क्रममा जीवन गुमाएका आरोहीको स्मृतिमा बत्ति बालेर मृत आत्माको शान्तिको कामाना गरेका थिए । कार्यक्रममा शेर्पा किदुगका सल्लाहकार तथा जनजाती महासंघका पुर्व अध्यक्ष कर्मा गेल्जेन शेर्पाले मुलुकको प्रतिष्ठासंग गासिएको एभरेष्ट डे मनाउनु हामी नेपालीको कर्तव्य भएको बताएका थिए । त्यस्तै नेपालबाट पर्यटन प्रर्वद्धनका लागी आएका तिलक लामाले सगरमाथाकै कारणले विश्व माझ नेपालको पहिचान बडाएकोले जहासुकै भएपनि हामी नेपालीले एभरेष्ट डे मनाउनु पर्ने बताएका थिए । कार्यक्रममा शेर्पा किदुगका अध्यक्ष छोङबा शेर्पा खम्बाचेले शाहसीक खेल क्यानोनिङ मार्फत नेपालको चिनारी दिन सफल तिलक लामा र कविन्द्र लामालाई पनि खादाका साथ सम्मान गरेका थिए ।
उक्त अवसरमा अध्यक्ष शेर्पाले नेपाल र नेपालीको पहिचानसंग जोडिएको एभरेष्ट डे नेपाल मिसनले मनाउन नसकेको अवस्थामा अबदेखि किदुगले हरेक वर्ष आरोहीसंग मिलेर मनाउने जानकारी दिएका थिए । त्यस्तै पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको भान्जी नाती छिरिङ नुर्बु शेर्पाले एभरेष्ट डे कार्यक्रमले आरोहीलाई मात्र नभई अन्तराष्ट्रिय रुपमा देशकै गौरव बडनमा थप मद्धत पुग्ने बताएका थिए । कार्यक्रममा सगरमाथा आरोहीहरुले यही महत्वपुर्ण दिनको एभरेष्ट डे को अवसरमा सरकारले मुलुकको प्रतिष्ठा बडाउने आरोहीलाई सम्मानसंगै हिमालमा मृत्यु भएका आरोहीको श्रीमति र बालबच्चालाई सहयोग गर्नुपर्ने धारण राखेका थिए ।
कार्यक्रममा पहिलो केटु आरोही तथा तीन पटक सगरमाथा आरोहण गर्ने सेराब जाङबु शेर्पा, ६ पटक सगरमाथामा आरोहण गर्ने पासाङ रिन्जी शेर्पा, सगरमाथा आरोहण गर्ने पहिलो दक्षिण एसियाली पत्रकार आङछिरिङ शेर्पा, सगरमाथा ३ पटक आरोहण गर्ने किपा शेर्पा, सगरमाथा ५ पटक आरोहण गर्ने आङबाबु शेर्पा जिम्बा, ३ पटक आरोहण गर्ने ल्हाक्पा तार्के शेर्पा, ३ पटक सगरमाथा आरोहण गर्ने पासाङछिरि शेर्पा र एक पटक आरोहण गर्ने मिङमा दोर्जी शेर्पाको उपस्थिति रहेको थियो । त्यस्तै कार्यक्रममा सोलु एफएमका सञ्चालक तथा तामाङ सोसाइटी अफ अमेरिकाका कोषाध्याक्ष् ङीमा पाखि्रन, आरोहीहरु लामा कान्छा शेर्पा र ङीमा काजी शेर्पा पनि उपस्थित रहेको थियो ।
तस्विर ङीमा पाखि्रन
|
| पछिल्लो परिमार्जन ( बुधबार, 30 मे 2012 14:05 ) |





