|
जमाना बदलियो, गीत बजाउन पैसा दिनुपर्छ : लाक्पा शेर्पा |
|
सोमबार, 11 जुन 2012 07:22 |
|
|
|
|
|
'झस्केर दुख्छ यो मुटु मेरो उसैको यादमा…', यो गीतबाट एकजामान सांगीतिक दुनियाँमा आफ्नो जगजगी कमाएका लाक्पा शेर्पा अझै थाकेका छैनन् । 'ए नि लै लै हो॥ बुढा पाकाहरु भन्थे॥ नमरी बाँचे कालले साँचे…' जस्ता गीतले पनि उनलाई चर्चित नै बनायो । बेलाबेला एकल साँझमार्फत आफ्नो कला पस्कने यी पचास वर्षे गायकले लगभग १ सय ५० गीत गाइसकेका छन् । आधुनिक र राष्ट्रिय गीतमा आफूलाई समर्पित गरेका शेर्पाले असहायलाई पनि सहयोग गर्दै आएका छन् । यिनै शेर्पा केही समयपछि आफ्नो सुगम संगीत पस्कन न्युयोर्क आइपुग्ने योजना पनि छ । यसैबारे एभरेस्ट टाइम्सका नेत्र मोक्तानले उनीसँग गरेको कुराकानीः सांगीतिक यात्रा कसरी सुरु भयो ? हाम्रो शेर्पाको नेपाली लवज स्पस्ट हुँदैन । त्यसैले यो प्रश्न आउनु स्वाभाविक हो । सानैदेखि बाहुन-क्षेत्रीको संगतमा परियो । संगत गुनाको फल भने झैं यही क्षेत्रमा लागियो । संगतमा गीत गाउने साथीहरु पनि थिए ? स्कुलका कार्यक्रमहरुमा यस्तै साथीहरुको पछि लागें । गीत गाएँ । अनि विस्तारै लय र स्वर समात्ने भएपछि त उनीहरुभन्दा अघि आइहालें नि ।
पढाइ काठमाडौंमै हो कि अन्तै ? म भारतमा पढेको । त्यतिबेला स्कुलमा गीत गाएरै म तीनपटक पहिलो भएँ । त्यसपछि मलाई अल इन्डिया रेडियोले अडिसनको लागि बोलायो । त्यसमा पनि पास भएँ । नेपाली भाषामै हो कि हिन्दीमा ? नेपालीमै हो नि । आधुनिक गीतमै लाग्नुभएको कारण केही छ कि ? यो विधाका गीतमा शब्दहरु गहन हुन्छन् । मार्मिक हुन्छन् । यसैले म यो विधामा लागेको हुँ । त्यसमा पनि स्तरीय शब्दहरुको फ्यान भएकाले अरु विधामा लाग्न सकिनँ । तपाईहरुको जमानामा आधुनिक गीतको उचाइ थियो बीचमा अलि सेलायो पनि अहिले फेरि आधुनिक गीत नै चम्किरहेको छ बजारमा तर तपाईंहरु त ओझेलमा पर्नुभएको छ नि ? यसमा खास गरी हाम्रो दोष छैन । संगीत क्षेत्र नै व्यावसायीकरण भएपछि हाम्रो के लाग्छ । पहिले गीत बजाएर रोयल्टी पाइन्छ भन्थे । अहिले आफ्नो गीत कुनै मिडियामा बजाउन पैसा दिनुपर्छ । जामान ठ्याक्कै परिवर्तन भएको छ । यसैले हामीले गाएका गीतहरु छायामा परेका छन् । म मात्र होइन प्रेमध्वज प्रधान दीप श्रेष्ठ जस्ता वरिष्ठ गायकहरु समेत छायामा पारिएका छन् । पहिलो हामीलाई गीत गाउन बोलाउँदा पनि पैसा दिन्थे रेडियो नेपालले । अहिले विभिन्न मिडियाको प्रतिस्पर्धा छ । उनीहरुलाई पैसा दिएर गीत बजाउन लाउनुपर्छ । संगीतको बजारै छैन त्यसो भए ? एल्बम बिक्नै छाड्यो । गीत चलाउन भिडियो बनाउनैपर्छ । एउटा राम्रो भिडियो बनाउन कम्तीमा एकलाख लाग्छ । त्यो बजाउन रेडियो टिभीलाई पैसा दिनैपर्छ । अनि कलाकार कसरी बाँच्ने त्यसैले स्टेज प्रोग्रामबाहेक मैले कलाकारको बजार देखेको छैन आजभोलि । शब्द र संगीतमा लागेकाहरुको त झन बेहालै छ । तपाई पनि स्टेज प्रोग्राम गर्नुहुन्छ ? केही समय अघि ुलाक्पा शेर्पा-एकल साँझु गरेको थिएँ । म यस्तै कार्यक्रम लिएर हङकङ भारतमा पनि पुगेको छु । यस्ता कार्यक्रमबाट उठेको रकम असहायलाई सहयोग गर्छु । एकजामना एल्बमको कमाइ पनि राम्रै हुन्थ्यो । त्यतिबेला मैले सूर्यबहादुर कुमाललाई मृगौला प्रत्यारोपण गर्न सहयोग गरें । उहाँ अहिले स्वस्थ हुनुहुन्छ रे । मलाई एकदम खुसी लागेको छ । अरुलाई सहयोग गरेपछि आफू कसरी बाँच्ने त झन् ? असहायलाई सहयोग गरेपछि हाम्रो त्यतिकै राम्रो हुन्छ । हामी काम गर्न सक्छौ । त्यसैले एक सहयोगीले मेरो नाममै लाक्पा शेर्पा संगीत कोषु खडा गरिदिनुभएको छ । यो कोषले के गर्छ नि ? यसले स्रष्टालाई सम्मान गर्ने र नयाँलाई प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गर्ने कार्यक्रम ल्याउँदैछ । अबको योजना के छ त तपाईको ? एकदुई गीत रेकर्ड हुदैछ । केही समयपछि अमेरिकाको न्युयोर्कमा जाने कुरा चलिरहेको छ । मिल्यो भने चाँडै एकल कार्यक्रम लिएर आउछु ।
|