दर्ता तथा प्रवेश
जेठ १४ मा संविधान जारी नभए कांग्रेस सरकारमा नबस्ने
PDF Print E-mail

काठमाडौं, २९ वैशाख । नेपाली कांग्रेसका युवा नेता गगन थापाले जेठ १४ मा संविधान जारी हुने अवस्था नभए कांग्रेस सरकारमा नबस्ने बताएका छन् ।

 

बिहीवार  रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै नेता थापाले भने, 'कांग्रेस सरकारमा आइहाल्यो । अब संकटकाल लगाएर संविधानसभाको म्याद ६ महिना थपिइहाल्छ भनेर सहमतिको नाजायज फाइदा उठाउने हो भने कांग्रेस सरकारबाट फिर्ता हुन्छ ।'

 

कार्यक्रममा सभासदसमेत रहेका थापाले प्रमुख चार दलका शीर्ष नेतालाई ठेकेदारको संज्ञा दिँदै चार वर्षसम्म संविधानसभाको बैठक बस्नै नदिएर आफूहरुलाई भूमिकाविहीन पारेको आरोप लगाए ।

 

'उनीहरुले १९ दिनको समय बाँकी छँदा संविधान बनाउने जिम्मा ६०१ सभासदको थाप्लोमा हालिदिएका छन्, त्यो आपत्तिजनक छ,' उनले भने– उनीहरुले अब ठेकदारी गर्दैनौं भन्ने हो भने हामी अझै पनि संविधान बनाउन सक्षम छौं ।

 

नेता थापाले कसैले चाहेर पनि जातीय आधारमा प्रदेश बन्न नसक्ने र त्यस्तो प्रदेश बने पनि टिक्न नसक्ने दाबी गरे । कांग्रेसले संघीयतामा सहमतिका लागि १८ प्रदेशको प्रस्तावमा छलफल चलाइरहेको पनि उनले बताए ।

 

नेकपा एमालेका युवा नेता एवं सभासद रवीन्द्र अधिकारीले जातीय आधारमा संघीयता घोषणा गर्दा मुलुक विखण्डनमा जाने दाबी गरे । 'अब संघीयतालाई अस्वीकार गरेर कहीँ पनि पुगिँदैन,' उनले भने– तर, एकल जातीय पहिचान भएको संघीयता दुई दिन पनि टिक्न सक्दैन । त्यसले अनावश्यक द्वन्द्व निम्त्याउँछ ।

 

प्रदेश विभाजनको खिचातानी रहिरहने हो भने संविधान नबन्ने उनले ठोकुवा गरे । 'अब एकल जातिको प्रदेश सम्भव छैन' उनले भने– एमाले बहुपहिचान भएको ११ प्रदेशको खाकामा छलफल चलाउन तयार छ ।

 

कमेन्ट राख्नुहोस्