|
नेपालको आर्थिक विकासबारे अमेरिकामा चर्चा |
|
|
काठमाडौ, १ साउन नेपालको आर्थिक विकासका लागि वैदेशिक लगानीका अवसर र राजनीतिक स्थायित्वमा मुलुकको अर्थतन्त्रको सन्दर्भलाई समेट्दै अमेरिका नेपाल प्रेस क्लबद्वारा हालै मेरिल्याण्डमा अर्थ र राजनीतिक क्षेत्रमा कार्यरत विशेषज्ञसँग भेटघाट कार्यक्रमको आयोजना गरियो ।
कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत शङ्कर शर्माले नेपालको आर्थिक वृद्धिदर सन् २००१ दॆखि २००६ सम्मको तीन प्रतिशको तुलनामा अहिले सन्तोषजनक नभए तापनि त्यसयताको समयमा चार प्रतिशतभन्दा माथिको सङ्केत देखिएकाले केही माथि जान लागेका छौं भन्नुभयो ।
उहाँले राजनीतिक अस्थिरता भए पनि त्यसले आर्थिक विकासलाई बाधा नपार्ने किसिमको अवस्था सिर्जना गर्न सक्नुपर्ने सुझाव दिनुभयो ।
राजदूत डा शर्माले भन्नुभयो- द्वन्द्वकाल बेहोरेर आएको भए तापनि नेपालमा स्वास्थ्यको सूचकाङ्क हेर्दा दक्षिण एसियामा नेपालको राम्रो वृद्धिदर देखिएको छ ।
देशको आर्थिक विकासका लागि विशेषतः निकासी र वैदेशिक लगानी महत्वपूर्ण हुन्छन् । नेपालका सन्दर्भमा पनि देशको बचतले आर्थिक विकास गर्न कठिनाइ हुने भएकाले वैदेशिक लगानी आउने वातावरण र देशभित्र भएका सम्भावनाहरुका लागि ध्यान दिनुपर्ने उहाँले सुझाव दिनुभयो ।
कार्यक्रममा विश्व बैंकको मुख्य कार्यालय वासिङ्टन डिसीका अर्थविज्ञ डा गोविन्दराज तिमिल्सनाले आर्थिक सन्दर्भमा र जर्ज वासिङ्टन युनिभसर्टीका डा चित्रकृष्ण तिवारीले नेपालको राजनीतिका सन्दर्भमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
|