| अमेरिकी अधिकारीको हत्या मुस्लिम अतिवादीबाट | ||||
|
|
वासिङ्टन, २८ भदौ । बुधबार लिबियाको बेनघाँजीमा अमेरिकी महावाणिज्यदूतावासमा भएको अमेरिकी राजदूतसहित चार अमेरकी नागरिकको हत्यामा अरब आन्दोलनमा आतङ्क मच्चाउँदै आएका अतिवादीहरुको हात रहेको प्रारम्भिक अनुमान गरिएको छ ।
मङ्गलबार राति गरिएको सो आक्रमणमा परी अमेरिकी राजदूत क्रिस स्टिभेन्सको ज्यान गएको थियो । उहाँसहित सो आक्रमणमा परी अरु तीन जना पनि मारिएका छन् ।
लिबियाको राजधानी त्रिपोलीस्थित अमेरिकी दूतावासमा कार्यरत उहाँ त्यस दिनमात्र बेनघाँजीस्थित महावाणिज्य दूतावासमा आइपुग्नुभएको थियो ।
सो आक्रमण कसले र किन गराएका थिए भन्ने बारेमा भने केही खुलिसकेको छैन । सो घटनाको जिम्मेवारी बिहीबार बिहानसम्म कसैले पनि लिएका छैनन् । तर अमेरिकी अधिकारीहरुले गरेको एक प्रारम्भिक अनुसन्धानमा अरब आन्दोलनमा आतङ्क मच्चाउँदै आएका आतङ्ककारीहरुको हात रहेको पाइएको बताइएको छ ।
लिबियाको राजधानीमा रहेका राजदूत सोही दिन किन सो महावाणिज्यदूतावासमा आउनुभयो र आक्रमणकारीलाई राजदूतमाथि आक्रमण गरिदैछ भन्ने कुरा थाहा थियो कि थिएन भन्ने विभिन्न प्रश्न उब्जाएको छ ।
आफ्नो नाम नबताउने शर्तमा एकजना अमेरिकी अधिकारीले भने- यी सबै तथ्यहरुका आधारमा हेर्दा यो आक्रमण तत्कालै सुरु भएको भनिएको कुनै प्रदर्शन वा आन्दोलनका कारण नभई धेरै पहिला देखि नै बनाइएको योजनाबद्ध तयारीबाट भएको देखिन्छ ।
|




